नागढुङ्गा सुरुङमार्ग सञ्चालनबाट टोल शुल्क संकलन सुरु भएको पहिलो दिनमै करिब ११ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ। पहिलो दिन आइतबार करिब ७ हजार ५०० सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन्।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट टोल शुल्क संकलन सुरु गरिएको हो। आइतबार राति १२ बजेदेखि लागू भएको शुल्क प्रणालीको पहिलो दिन नै उल्लेख्य संख्यामा सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका हुन्।
‘टोल कलेक्सन गरेको पहिलो दिन ७ हजार ५०० को हाराहारीमा सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन्,’ पन्थीले भने, ‘आइतबारको तथ्यांकअनुसार करिब ११ लाख ७० हजार रुपैयाँ टोल शुल्क संकलन भएको छ।’
पन्थीका अनुसार नागढुङ्गा सुरुङमार्गमा औसत दैनिक सवारी चाप करिब ८ हजार ५०० रहेको छ। दसैंको समयमा भने दैनिक १० हजारभन्दा बढी सवारीसाधनले उक्त सडक प्रयोग गरेका थिए।
आयोजनाले सुरुवाती अनुमानमा दैनिक करिब ५ हजार सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अपेक्षा गरेको थियो। तर, शुल्क संकलन सुरु भएको पहिलो दिनमै अनुमानभन्दा बढी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन्।
सुरुङमार्ग प्रयोगबापत वार्षिक ३५ देखि ४० करोड रुपैयाँसम्म टोल शुल्क संकलन हुने आयोजनाको अनुमान छ। पन्थीले दैनिक सवारी चाप र संकलित राजस्वका आधारमा पहिलो वर्षको वास्तविक अवस्था क्रमशः स्पष्ट हुँदै जाने बताए।
‘आजको तथ्यांक भोलि प्राप्त हुन्छ। यसअनुसार पहिलो वर्षमा ३५ देखि ४० करोड रुपैयाँ संकलन हुने अनुमान छ,’ उनले भने।
सवारीसाधनको चाप, प्रयोगकर्ताको प्रतिक्रिया र राजस्व संकलनको अवस्थाले आगामी दिनमा नागढुङ्गा सुरुङमार्गको उपयोगिता तथा आर्थिक प्रतिफलको वास्तविक चित्र देखाउने अपेक्षा गरिएको छ।