नेपालको छिमेकी मुलुक भारतलाई पछि पार्दै संयुक्त राज्य अमेरिकाबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या पहिलो स्थानमा पुगेको छ। सन् २०२६ को अक्टोबर महिनामा भारतभन्दा बढी अमेरिकी पर्यटक नेपाल आएका हुन्।
नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२६ मा कुल १ लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। तीमध्ये सबैभन्दा बढी १७ हजार ४३७ जना अमेरिकी पर्यटक रहेका छन्। गत वर्षको अक्टोबरमा अमेरिकाबाट १३ हजार २८६ पर्यटक नेपाल आएका थिए। यसले अमेरिकी पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको देखाउँछ।
अमेरिकी पर्यटकको आगमन बढिरहँदा भारतीय पर्यटकको संख्यामा भने उल्लेख्य गिरावट आएको छ। अक्टोबर महिनामा भारतबाट १२ हजार ९७ जना पर्यटक नेपाल आएका छन्। गत वर्षको सोही अवधिमा भारतबाट १७ हजार २९८ पर्यटक नेपाल आएका थिए।
अमेरिकाबाट पर्यटक आगमनमा सेप्टेम्बरको तुलनामा समेत उल्लेख्य वृद्धि भएको छ। सेप्टेम्बर २०२६ मा अमेरिकाबाट ८ हजार २९९ पर्यटक नेपाल आएका थिए।
अक्टोबर महिनामा समग्र पर्यटक आगमनमा गत वर्षको तुलनामा ३.४ प्रतिशत वृद्धि भएको छ। गत वर्षको अक्टोबरमा १ लाख २८ हजार ४४३ पर्यटक नेपाल आएका थिए भने यस वर्ष उक्त संख्या बढेर १ लाख ३२ हजार ८१४ पुगेको छ।
पर्यटक आगमनका आधारमा चीन तेस्रो स्थानमा रहेको छ। अक्टोबरमा चीनबाट ११ हजार ६९५ पर्यटक नेपाल आएका छन्। गत वर्षको सोही महिनामा चीनबाट ६ हजार ७५५ पर्यटक आएका थिए।
त्यस्तै, बेलायतबाट ९ हजार ३८५, अस्ट्रेलियाबाट ९ हजार ३५२ र जर्मनीबाट ६ हजार ११४ पर्यटक नेपाल आएका छन्।
शीर्ष १० पर्यटक स्रोत मुलुकमा श्रीलंका पनि परेको छ। श्रीलंकाबाट ५ हजार ५६०, बंगलादेशबाट ४ हजार ८९३, फ्रान्सबाट ४ हजार १६४ र म्यानमारबाट ३ हजार २५ पर्यटक नेपाल आएका छन्।
भारतीय पर्यटक घट्दा सार्कको हिस्सा खस्कियो, अमेरिकी र युरोपेली पर्यटक बढे
अक्टोबर महिनामा भारतीय पर्यटकको आगमन घटेसँगै सार्क क्षेत्रबाट नेपाल आउने पर्यटकको समग्र संख्यामा पनि गिरावट आएको छ।
यस वर्ष अक्टोबरमा सार्क राष्ट्रहरूबाट कुल २४ हजार ५३ पर्यटक नेपाल आएका छन्। गत वर्षको सोही अवधिमा यो संख्या २९ हजार ६० थियो। यसअनुसार सार्क क्षेत्रबाट हुने पर्यटक आगमनमा १७.२ प्रतिशत गिरावट आएको छ।
यता, युरोपेली मुलुकबाट आउने पर्यटकको संख्यामा भने उल्लेख्य वृद्धि भएको छ। यस वर्ष अक्टोबरमा युरोपबाट ३९ हजार ८७७ पर्यटक नेपाल आएका छन्। गत वर्षको सोही महिनामा यो संख्या १५ हजार १४८ थियो।
त्यस्तै, अमेरिकी महादेशका मुलुकहरूबाट अक्टोबरमा २१ हजार २७० पर्यटक नेपाल आएका छन्। गत वर्षको सोही अवधिमा उक्त क्षेत्रबाट १६ हजार ४०७ पर्यटक नेपाल आएका थिए।
समग्र तथ्यांकले भारत तथा सार्क क्षेत्रबाट हुने पर्यटक आगमन घटे पनि अमेरिका र युरोपेली मुलुकबाट आउने पर्यटकको संख्या बढ्दा नेपालको पर्यटन बजारमा नयाँ सम्भावना देखिएको संकेत गरेको छ।